धनगढी । बाजुरामा यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आज बिहान पवनदूत यातायातको सुपप्र ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार दुर्घटनामा बसमा सवार २४ जना घाइते भएका छन्। घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल पठाइएको छ।
बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







