राप्रपाको सांसद ओलीले भनिन- ‘प्रतिनिधिसभा सरकारको कठपुतली होइन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्थाको दुरुपयोग गरेको आरोप लगाएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद्लाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको टिप्पणी गरिन्।

उनले संविधानको धारा ११४ ले विशेष परिस्थितिमा मात्र अध्यादेश ल्याउन सकिने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै सरकारले त्यसको भावना र मर्मविपरीत लगातार अध्यादेश जारी गरिरहेको आरोप लगाइन्।

उनले भनिन्, ‘प्रतिनिधिसभालाई सरकारले बेवास्ता गरेको हो कि भन्ने देखिन्छ। अझ भनौं, संसद्लाई छायामा पार्ने प्रयास भइरहेको अनुभूति हुन्छ। प्रतिनिधिसभा सरकारको कठपुतली होइन।’

ओलीले विगतमा संसद्को अधिकार र भूमिकाको पक्षमा आवाज उठाउने दलहरू अहिले सरकारमा पुगेपछि मौन बसेको भन्दै अप्रत्यक्ष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति पनि कटाक्ष गरिन्।

‘हिजो यही संसद्मा उभिएर प्रतिनिधिसभा सरकारको कठपुतली बन्न हुँदैन भन्नेहरू आज मन्त्रिपरिषद्मा छन्,’ उनले भनिन्।

राप्रपाले सरकारको अध्यादेश नीति संसदीय अभ्यास, लोकतान्त्रिक मूल्य र संविधानको भावनामाथिको हस्तक्षेप भएको दाबी गर्दै संसद्को भूमिकालाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएको छ।