सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ, बस्ती आजदेखि खाली गरिँदै

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ ।

नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।

उक्त समय सीमा सकिएसँगै आज वैशाख १२ गते बिहान ६ बजेदेखि नै अनधिकृत घरटहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो ।

प्रशासनले शुक्रबार नै सूचना जारी गरी घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।

बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ

सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्न सक्ने आशङ्कामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनार छन् ।

उनीहरूलाई थापाथली क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । शुक्रबार प्रहरीले सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियारलाई पक्राउ गरेको थियो ।

२०७९ मा काठमाडौँ महानगरपालिकाले थापाथली स्थित सुकुमबासी बस्ती खाली गराउन खोज्दा परिश्रमीले महानगरका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार देखिएको एसपी भट्टराईले बताए ।