काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ।
तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ।
दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ। राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।







