काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज शनिबार र आइतबार दुई दिन लागाएर हटाउने तयारी गरेको छ ।
उपत्यकाका सुकुमवासी बस्तीमा शुक्रबार साँझदेखि नै बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन् । नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै सरकारको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय सीमा तोकेको थियो ।
उक्त समय सीमा सकिएसँगै आजदेखि नै अनधिकृत घर टहराहरू भत्काउने र अतिक्रमित क्षेत्र पूर्ण रूपमा खाली गराउने प्रक्रिया अघि बढाइने भएको हो ।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।
बस्ती खाली गराउने कार्यमा कुनै पनि अवरोध सिर्जना भएमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ ।







