प्रधानमन्त्रीलाई भारतबाट भ्रमणको निम्तो आएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारतबाट भ्रमणको निम्तो आएको बताएका छन् ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रा प्रधानमन्त्री बालेन शाहलाई बधाइ चिठी पठाउँदा नै भ्रमणको निम्ति सहित आएको छ,’ नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्केका मन्त्री खनालले सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने । यद्यपि भ्रमणको तिथि मिति भने तय भइनसकेको उनले जानकारी दिए ।

उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा आफ्ना भारतीय समकक्षी एस जयशंकरसँगको साइडलाइन भेटमा समेत छलफल भएको मन्त्री खनालले जानकारी दिए ।

उनले भने, ‘नयाँ सरकारले आफ्नो प्राथमिकता निर्धारण गरिसकेपछि र दुवै देशका मन्त्रालयको प्राविधिक समितिले आफ्नो काम पूरा गरिसकेपछि मात्र उच्चस्तरीय राजनीतिक भ्रमण गर्ने भन्नेमा हामीले छलफल गरेका छौं ।’

दुई देशबीचका प्राविधिक संयन्त्रहरूले काम गरिसकेपछि मात्र भ्रमण तय हुने खनालले बताए । मन्त्री खनालले तीन दिने मरिसस भ्रमणमा आफ्नो सहभागिता सक्रिय र अर्थपूर्ण रहेको बताए । भ्रमणले नेपालको कूटनीतिक पहुँचलाई फराकिलो पारेको उनको बुझाइ छ ।

मरिससको राजधानी पोर्ट लुइसमा खनालले मरिसस, सिङ्गापुर र भुटानका मन्त्रीहरूले बेग्ला-बेग्लै भेटवार्ता गरेका थिए । भेटबारे उनले भने, ‘सन्तुलित स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीति अभिव्यक्त गर्ने अवसर प्राप्त भयो ।’

शनिबार सम्मेलनलाई सम्बोधन गर्दै खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताएका थिए ।