भक्तपुरमा भेटियो बर्डफ्लु

संजीप घिमिरे, भक्तपुर । भक्तपुरमा बर्ड फ्लु भेटिएको छ । वडा नं. ८ को महेश्वरी पीठ क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्ड फ्लुको H9 प्रकारको जीवाणु फेला परेको हो ।

केही दिनदेखि कागहरु मरिरहेका स्थानीयले जानकारी गराएपछि परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाइएको थियो । शुक्रबार प्राप्त रिपोर्टमा बर्डफ्लुको H9 भेरियन्ट भेटिएको भक्तपुर नगरपालिकाको सूचना अधिकारी दामोदर सुवालले पुष्टि गरेका छन् । पशुपन्छी शाखाकी प्रमुख पार्वती योन्जनले जनाए अनुसार यो भेरियन्ट मानिसमा सर्दैन । तर, पन्छिहरुमा भने सर्ने जोखिम छ ।

सरसफाइ शाखाका प्रमुख दिलिप कुमार सुवालले वडा नम्बर १ स्थित सिद्धपोखरी क्षेत्रमा पनि शुक्रबार मृत काग भेटिएको जानकारी दिए । नगरपालिकाले कुखुरा लगायत पन्छी फारमहरुमा उच्च सतर्कता अपनाउन किसान र ब्यवसायीलाई आग्रह गरेको छ ।

बर्ड फ्लु फेला परेको पुष्टि भएपछि कुखुरा तथा अन्य पन्छीमा रोग सर्ने जोखिम भएकाले विशेष सावधानी अपनाइएको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

संक्रमित पन्छीसंगको प्रत्यक्ष सम्पर्क र दाना–पानीमार्फत रोग फैलन सक्ने भएकाले किसान तथा व्यवसायीलाई सार्वजनिक सूचना मार्फत सतर्क गराइएको उनको भनाइ छ ।