शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक श‌ंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेकाे हाे ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेकाे छ । विभागले यसैकाे अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युराेलाई पत्र पठाएकाे थियाे ।

व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार शंकर ग्रुपका अन्य सदस्य पनि अनुसन्धानमा तानिएका छन् ।

अग्रवाल शंकर ग्रुपका संस्थापक अध्यक्ष हुन् । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घराना हो । मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु, व्यापारलगायत क्षेत्रमा लगानी गरेको छ ।

यो समूहले पछिल्ला वर्षहरुमा अर्का विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारीमा धेरै व्यवसाय सञ्चालन गर्दै आएको छ । भट्टलाई प्रहरीले बिहीबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोही क्रममा आज अग्रवालाई पनि पक्राउ गरेको हो ।