काठमाडौं । जेनजी आन्दोलनको दमनबारे पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान अस्पतालमै लिन सुरु गरिएको छ ।
स्वास्थ्य समस्याका कारण अस्तालमै राखेर बयान लिन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
ओली पक्राउ परेदेखि नै महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् । अहिले त्रिवि शिक्षण अस्पतालमै जिल्ला सरकारी वकिल कार्यालयका टिम र अनुसन्धान अधिकृत प्रहरीले बयान लिइरहेको एसपी भट्टराईले बताए ।
यता लेखकको भने बयान सकिएको छ । उनले बुधबार सरकारी वकिलको कार्यालयमा उपस्थित भएर बयान दिएका थिए । त्यसैगरी पक्राउ परेपछि पहिलो पटकका लागि दिएको ५ दिनको म्याद पनि आज बिहीबार सकिएको छ ।
जसअनुसार उनीहरुविरुद्ध आज दोस्रो पटक म्याद लिने तयारी पनि प्रहरीले गरेको छ । ओली लेखक दुबै जनाको भिडियो कन्फ्रेन्समार्फत म्याद थपको तयारी अघि बढाइएको एसपी भट्टराईले बताए ।
गत २३ र२४ भदौमा भएको जेनजी आन्दोलन घटनाको दनमबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन भएको थियो । उक्त आयोगले ओली, लेखकलाई ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो ।
आयोगको सिफारिस कार्यान्वयन गर्ने सरकारले निर्णय गरेसँगै गत शनिबार बिहानै उनीहरु पक्राउ परेका थिए । त्यसयता उनीहरु हिरासतमा छन् ।






