
education minister
काठमाडौं । विद्यालय तथा कलेज भर्ना सिजन नजिकिँदै गर्दा सरकारले ‘ब्रिज कोर्स’ र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै आगामी वैशाख १ गतेदेखि लागू हुने गरी भर्ना प्रक्रिया सुरु हुनु अघि सञ्चालन गरिँदै आएका यस्ता कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार पछिल्लो समय विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना अगावै विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले विभिन्न संस्थाले ब्रिज कोर्स सञ्चालन गर्दै आएका थिए। यसले शैक्षिक वातावरणमा अनावश्यक दबाब सिर्जना गर्नुका साथै अभिभावकमाथि आर्थिक भार थपिएको भन्दै सरकार हस्तक्षेपमा उत्रिएको हो।
सूचनामा भनिएको छ— भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु हुनुभन्दा अगाडि कुनै पनि नाममा अतिरिक्त तयारी कक्षा सञ्चालन गर्न पाइने छैन। यस्तो कार्यमा संलग्न संस्थामाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
हेर्नुस् सूचना

सरकारको यो कदमलाई शैक्षिक क्षेत्र सुधारको प्रयासका रूपमा हेरिएको छ। यद्यपि, निजी शैक्षिक संस्थाहरूले भने यस निर्णयले सेवामुखी ब्यवसाय धराशायी हुने भन्दै असन्तुष्टि जनाएका छन् ।






