काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । बढेको मूल्य आजदेखि लागू भएको छ ।
विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ । सो युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा रु ५ अब घाटा हुने देखिएको निगमले जनाएको छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ ।
पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल १८४।५० कायम हुनेछ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा १८६ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।








