अस्पताल भवन अलपत्र पारेपछि ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।

आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका लागि चैत ८ गतेदेखि गाडी, गाडीको चाबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले जानकारी दिइन् ।

हलेसीमा २०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । भवनको पहिलो चरणको काम समेत पुरा नभएको, काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि प्रगती नभएपछि नगरपालिकाले गाडी कव्जामा लिएको हो ।

मेयर राईले चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर चाबी नियन्त्रणमा लिएर प्रहरीलाई बोलाएकी थिइन् । ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको गाडी नियन्त्रणमा लिएको विषयमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकेको छ ।

नगरपालिकाले ठेकेदारलाई आगामी चैत १२ गतेदेखि अस्पतालको भवन निर्माणको कामलाई जारी राख्ने प्रतिबद्धता जनाउन लगाएको छ । चैत १२ गतेदेखि सुरु गरेर ४५ दिनभित्र कम्तीमा बेसमेन्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फष्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेण्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिबद्धता गराइएको हो । सो प्रतिबद्धता अनुसार काम नगरे नियम अनुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागज गराइएको मेयर राईले बताइन् ।

पटक–पटक फोन गर्दा नउठाएपछि मेयर राईले हिउँदे नगरसभामार्फत ‘ब्ल्याकलिष्ट’मा राख्ने मेसेज पठाएपछि निर्माण व्यवसायी बस्नेत नगरको सम्पर्कमा आएका थिए ।