शपथको मिति तय: १३ चैतमा बालेन प्रधानमन्त्री बन्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन शाह को नेतृत्वमा सरकार गठन गर्ने तयारी तीव्र पारेको छ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपाले सरकार गठनका लागि आवश्यक समन्वय पूरा गरेको जनाएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद् सचिवालय तथा निर्वाचन आयोगसँग आवश्यक समन्वय भइसकेको छ ।

‘१३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,’ उनले भने । त्यसअघि १२ चैतमा नवनिर्वाचित सांसदहरूको शपथ गराइनेछ । त्यसपछि संसदीय दलको नेता चयन गरी सोही आधारमा बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ ।

संविधानको धारा ७६ (१) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही संवैधानिक प्रावधानअनुसार प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ ।

रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल १८२ सिट जित्दै झण्डै दुई तिहाइ बहुमत हासिल गरेको छ । निर्वाचनअघि नै बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको थियो ।

प्रधानमन्त्रीको शपथलगत्तै मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि गरिएको छ । १५ देखि १८ वटा मन्त्रालय राख्ने योजना अनुसार विज्ञता र क्षमताका आधारमा मन्त्री चयन गरिने बताइएको छ । मन्त्रीहरूको नाम भने १२ चैत साँझसम्म टुंगो लगाइने जनाइएको छ ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापति डिपी अर्याल र नेता स्वर्णिम वाग्ले बीच यसबारे छलफल भइसकेको छ ।

यसैबीच, पार्टीका केही शीर्ष नेताहरू सरकारमा सहभागी नहुने भएका छन् । पार्टी सञ्चालनलाई सुदृढ बनाउन उनीहरूलाई ‘रिजर्भ’ मा राख्ने रणनीति अपनाइएको छ ।

‘पार्टी सञ्चालनका लागि पनि सक्षम टिम आवश्यक हुन्छ, त्यसैले केही शीर्ष नेता सरकारमा नजाने समझदारी भएको छ,’ बुर्लाकोटीले बताए ।  रास्वपाले जनअपेक्षा अनुसार प्रभावकारी र परिणाममुखी सरकार सञ्चालन गर्ने दाबी गरेको छ ।