काठमाडौँ । इरानले अमेरिका र इसराइलसँग युद्धको पहिलो पटक लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रहार गरेको छ।
शनिबार इरानले हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको सैन्य अड्डालाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। यो सैन्य अड्डा तेहरानबाट ४ हजार किलोमिटरको दूरीमा रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
इरानले तीन साताको युद्धमा पहिलो पटक यति लामो दूरीमा प्रहार गरेको हो। यसबाट इरानले युरोपेली मुलुकहरूमा पनि आक्रमण गर्न सक्ने क्षमता विकास गरेको भनेर रोयटर्सले लेखेको छ।
यसले युद्ध तत्काल अन्त्य नहुने संकेत गरेको पनि विश्लेषण हुन थालेको छ। यसअघि इरानले प्रयोग गर्दै आएको अधिकांश मिसाइलहरुको मार हान्ने दूरी ३०० किलोमिटरदेखि करिब २ हजार किलोमिटरसम्म हुने गर्थ्यो।
यस्ता क्षेप्यास्त्र मुख्यतः मध्यपूर्वभित्रका लक्ष्यहरू; इसराइल र खाडी मुलुकका अमेरिकी सैन्य अड्डासम्म सीमित थिए। तर पछिल्लो घटनामा प्रयोग गरिएको करिब ४ हजार किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र ले इरानको आक्रमण क्षमता पहिलेभन्दा धेरै टाढासम्म विस्तार भएको देखाएको छ।
इसराइली सेनाका प्रमुख इयाल जमिरले ४ हजार किलोमिटर दूरीमा रहेको हिन्द महासागरस्थित अमेरिका र बेलायतको संयुक्त सैन्य अड्डालाई लक्ष्य गरिएको बताएका छन्।
यसले कति क्षति गर्यो भन्ने विवरण भने सार्वजनिक गरेको छैन। तर पहिलो पटक इरानले यस्तो मिसाइल प्रहार गरेकाले द्वन्द्वको दायरा बढ्न सक्ने आइडिएफ प्रमुख जमिरले पनि बताएका छन्।
शनिबार राति नै इरानले इसराइलको दक्षिणी सहर डिमोना र अरादमा मिसाइल हमला गर्दा दर्जनौं घाइते भएका छन्। डिमोना इसराइलको गोप्य आणविक रियाक्टर नजिकैको क्षेत्र हो।
इरानले आक्रमण गर्दा प्रतिरक्षा प्रणालीको इन्टरसेप्टरले कामै नगरेको रोयटर्सले जनाएको छ। जसका कारण त्यहाँ केही क्षति पुगेको छ। अमेरिकाले भने इरानमा अब कुनै पनि लक्ष्य बाँकी नरहेको दाबी गर्दै आएको छ।
त्यसकारण अब इरानमा आक्रमण पनि कम गर्ने विषयमा विचार भइरहेको भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।







