नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध बनेको अवस्थामा अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
नवलपरासी बर्दघाट पुर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक अत्यधिक चिप्लो र हिलो भएपछि यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट निरन्तर बगिरहेको लेदो माटोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ। प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फस्ने गरेका छन्।
उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन विशेष गरी उकालोमा चिप्लिएर रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधन सीमित रूपमा मात्र सञ्चालन भइरहेका छन्।
तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु तथा चालकहरू बाटोमै अलपत्र परेका छन्। लामो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन सडकमै रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भइरहेको छ।
सडक विस्तारको काम जारी रहेको दाउन्ने खण्डमा सामान्य वर्षा हुँदा पनि अवरोध हुने समस्या दोहोरिँदै आएको नारायणघाट बुटवल सडक निर्माण परियोजनाले जनाएको छ। हाल अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारका काम तीव्र पारिएको पनि आयोजनाले जानकारी दिएको छ।
यसैबीच, सडकको अवस्था सुधार गर्न भन्दै आयोजनाले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। यसका कारण साना सवारी तथा आकस्मिक सेवाका सवारीसमेत प्रभावित भएका छन्।







