काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायमै रहेको छ। यसका कारण देशका विभिन्न भूभागमा मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ।
आज दिउँसो देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी पहाडी तथा हिमाली भूभागका केही स्थानहरू र कोशी तथा लुम्बिनी प्रदेश को तराईका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ।
आज राति भने देशको हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
यस्तै, रातिको समयमा कोशी र गण्डकी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
मौसमविद्हरूले चट्याङ्ग तथा वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।







