गोदावरी वडा नं. ३ बालमैत्री वडा घोषित

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ बालमैत्री वडा घोषित भएको छ।

“सम्मानित बालापन – सुनिश्चित बालअधिकार, बालमैत्री तथा समुन्नत गोदावरीको आधार” भन्ने नारासहित बिहीबार वडा घोषणा गरिएसँगै नगरपालिका नै बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी अगाडि बढेको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले जानकारी दिए।

बालमैत्री वडा घोषणाको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै फूँयालले यो घोषणाले नयाँ सभ्यताको सुरुवात गरेको बताए। उनले २०७२ सालको संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयनमा गोदावरी नगरपालिकाले खेलेको भूमिकाको प्रशंसा गरे।

“अधिकार संविधानमा लेखेर मात्र सुनिश्चित हुँदैन, त्यसका लागि सफल कार्यान्वयन आवश्यक हुन्छ,” उनले भने, “बालमैत्री वडा घोषणाका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दछु। दुई वर्षदेखि निरन्तर सक्रिय भएर काम गर्न सफल भएकोमा खुसी लागेको छ।”

उनले वडाभित्रका सबै नागरिकलाई जानकारी गराउन बालमैत्री वडा घोषणा औपचारिक रूपमा गरिएको बताउँदै गोदावरीलाई अझ सुन्दर बनाउँदै पर्यटकको आकर्षण केन्द्र बनाउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

नगरप्रमुख गजेन्द्र महर्जनले नगरभित्र सबैलाई सुरक्षित वातावरण उपलब्ध गराउँदै विकास निर्माणका काम अघि बढाइने बताए। उनले नगरका बाँकी दुई वडा पनि यसै महिनाभित्र बालमैत्री वडा घोषणा हुने जानकारी दिए। अर्को महिना नगरपालिका नै बालमैत्री स्थानीय तह घोषणा हुने लक्ष्य राखिएको उल्लेख गर्दै बालश्रम र बालविवाहमुक्त स्थानीय तह सुनिश्चित गर्न अनुगमन तीव्र बनाउने प्रतिबद्धता जनाए।

उनले बालबालिकालाई सामाजिक सञ्जालमा फैलिने गलत सूचनाबाट प्रभावित नहुन सचेत रहन आग्रह गर्दै सचेत नागरिक निर्माणका लागि तल्लो तहबाटै ध्यान दिनुपर्ने बताए। गोदावरी पर्यटकीय क्षेत्र भएकाले पर्यटन विकासका लागि वडाले गरिरहेका प्रयासमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले नेपालले विश्व बालअधिकार सम्बन्धी अभिसन्धिमा हस्ताक्षर गरेको र संविधानमै बालअधिकार समेटिएको जानकारी दिए।

सोहीअनुसार नीतिगत व्यवस्था गर्दै बालमैत्री स्थानीय शासनमा जोड दिइएको उनले बताए। राष्ट्रियस्तरमा तय गरिएका सबै सूचक पूरा गरेपछि मात्र बालमैत्री घोषणा गरिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले बालबालिकालाई आफ्ना हकहितका साथै स्थानीय विकास निर्माणमा जनप्रतिनिधिलाई खबरदारी गर्न आग्रह गरिन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोग र सचेतनाको कमीले बालबालिका र अभिभावकबीचको सम्बन्ध कमजोर बन्दै गएको बताउँदै यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

बागलुङको बडीगार्ड गाउँपालिकाका प्रमुख गण्डकी थापाले गोदावरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियामा सफलता हासिल गरेकोमा खुसी व्यक्त गरे। उनले यसलाई दीगो बनाउनेतर्फ ध्यान दिन आग्रह गरे।

किटानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बालबालिकालाई राम्रो वातावरण र अवसर प्रदान गर्न अभिभावकदेखि समुदायसम्मको भूमिका महत्त्वपूर्ण हुने बताए। बालमैत्री व्यवहार र शासनका लागि सबैले दायित्वबोध गर्नुपर्नेमा उनले जोड दिए।

वडा नं. ३ का अध्यक्ष सानुराज घिमिरे (राज)ले बालमैत्री वडा घोषणापछि यसको दीगो कार्यान्वयनमा ध्यान दिइने बताए। उनले विद्यार्थी र विद्यालयलाई प्रेरित गर्दै अघि बढ्ने योजना रहेको उल्लेख गरे।

महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा समुदायको विश्वास जित्दै विभिन्न अल्पकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गरेर बालमैत्री वडा घोषणा सम्भव भएको बताइन्।

गोदावरी बाल सञ्जालका अध्यक्ष स्माइल राईले परिवर्तन आफ्नै सोच र कार्यबाट सुरु हुने भन्दै वडा नं. ३ ले ५१ वटा सूचक पूरा गरेर बालमैत्री वडा घोषणा हासिल गरेको जानकारी दिए।