काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह खलि खमेनीको मृत्युप्रति समवेदना प्रकट गरेपछि भारतलाई स्ट्रेट अफ हर्मुजबाट ग्यास ल्याउने बाटो खुलेको छ।
अमेरिका र इसराइलको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी मारिएपछि भारतले पाँच दिनसम्म केही प्रतिक्रिया दिएको थिएन। संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरू मारिए।
तर सो हमलाको केहि दिन अघि मात्रै इसराइल भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले त्यसबारे केहि पनि टिप्पणी गरेन।
खमेनी मारेको जबाफमा इरानले दुई दिन पछि आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गर्यो। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव पर्यो।
भारतले सो जलमार्गबाट खाना पकाउने ग्यास र कच्चा तेल ल्याउने भएकाले इरानको सो कदमले भारतलाई पनि अप्ठ्यारो पर्यो। भारतमा खपत हुने ग्यासको करिब ९० प्रतिशत सोही जलमार्ग प्रयोग गरेर आयात हुन्छ। भारतले केहि हप्तासम्म पुग्ने तेल भण्डार राख्ने गरे पनि धेरै दिनसम्म पुग्ने गरी खाना पकाउने ग्यास भण्डार गर्न नसक्ने भएकाले भारतलाई पनि समस्या पर्न सक्ने खतरा भयो।
त्यसैले खमेनीको हत्या भएको पाँच दिन पछि मार्च ५ मा बल्ल भारतका विदेश सचिव बिक्रम मिस्री दिल्लीस्थित इरानी दुतावासमा गएर समवेदना प्रकट गरे। त्यहाँ रहेको समवेदना पुस्तिकामा हस्ताक्षर गरे।
त्यसपछि भारतीय विदेश मन्त्री एस जयशंकरले इरानी समकक्षी अब्बास अराग्चीसँग फोनमा कुराकानी गरे। त्यसपछि कूटनीतिक प्रक्रिया सुरू भएर एक हप्ता पछि बल्ल इरानले भारतका लागि ग्यास बोकेका दुई वटा जहाजलाई हर्मुजको जलमार्ग प्रयोग गर्न दिएको भनेर ब्लुमबर्गले लेखेको छ।
खमेनीको मृत्युमा भारतले समवेदना प्रकट गरेको अघिल्लो दिन १८३ जना नौ सैनिक भएको एक इरानी युद्धपोत भारतको कोचीमा रोकियो। भारतमा भएको नौ सैनिक अभ्यासमा भाग लिएर घर फर्कंदै गरेको अर्को एक इरानी युद्धपोतलाई त्यसै दिन श्रीलंका नजिकैको समुद्रमा अमेरिकाले प्रहार गरेर ध्वस्त पारेका थियो। अरू इरानी युद्धपोतमाथि पनि अमेरिकाले प्रहार गर्ने डरले इरानले आफ्नो युद्धपोत भारतमा राख्न अनुमति मागेको थियो।







