‘विशेष महाधिवेशनकै कारण हार’ : सांसद बस्नेतद्वारा सभापति थापाको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित कांग्रेसका राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सांसदहरूबीचको परिचय तथा अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका हुन्।

बस्नेतले विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको दाबी गरे। विशेष महाधिवेशनमार्फत ‘सेटिङ’का आधारमा पार्टी क्याप्चर गरिएको आरोप लगाउँदै उनले त्यसले पार्टीभित्र एकता कमजोर भएको बताए।

‘विशेष महाधिवेशनबाट सेटिङ अनुसार पार्टी क्याप्चर भएको हो। यही कारणले आज हामी हार्यौँ,’ बस्नेतले भने, ‘अब पार्टीलाई फेरि उठाउन एकता आवश्यक छ। त्यसका लागि सभापति गगन थापाजीले राजीनामा दिनुहुन्छ भन्ने मेरो विश्वास छ।’