कतारमा रहेको अमेरिकी सैन्य अड्डामा खस्यो इरानले हानेको क्षेप्यास्त्र

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।

कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।

कतारको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानबाट मंगलबार राति प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारलाई निशाना बनाएको उल्लेख छ । तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको उल्लेख छ ।

त्यसबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । तर भौतिक क्षति पुगेको छ कि छैन भन्नेबारे वक्तव्यमा उल्लेख छैन ।

कतारी सशस्त्र बलसँग देशको सार्वभौमसत्ता र भू–भागको सुरक्षा सुनिश्चित गर्ने पूर्ण क्षमता रहेको र कुनै पनि बाह्य खतराप्रति कडा जवाफ दिन तयार रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले नागरिक, बसोबास गर्ने विदेशी तथा आगन्तुकलाई शान्त रहन, आधिकारिक निर्देशन पालना गर्न र हल्लाको सट्टा प्रमाणित सूचनामा भर पर्न आग्रह गरेको छ ।

यसअघि मंगलबार नै मन्त्रालयले इरानी आक्रमण सुरु भएयता कतारी हवाई क्षेत्रतर्फ तीनवटा क्रुज क्षेप्यास्त्र, १०१ वटा बैलिस्टिक क्षेप्यास्त्र र ३९ वटा आत्मघाती ड्रोन आएको पत्ता लागेको जनाएको थियो । तीमध्ये सबै क्षेप्यास्त्र र २४ वटा ड्रोन अवरोध गरिएको मन्त्रालयले दाबी गरेको छ ।

शनिबार अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेर सर्वोच्च नेता अली खामेनीको ज्यान लिएपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा लक्षित गरी आक्रमण जारी राखेपछि तनाव चुलिएको छ । उक्त आक्रमणमा करिब ८०० जनाको ज्यान गइसकेको जनाइएको छ ।

यसको जवाफस्वरूप इरानले इजरायलसँगै अमेरिकी सैन्य सम्पत्ति रहेका खाडी मुलुकहरूलाई लक्षित गर्दै ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।