कोलम्बो । आयोजक श्रीलंका टी–२० विश्वकपबाट बाहिरिएको छ। बुधबार राति भएको सुपर–८ को छैटौँ खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो।
कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा श्रीलंकाले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो।
१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाली टोलीले भने २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा मात्र १०७ रन बनाउन सक्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका रचिन रवीन्द्र ‘प्लेयर अफ द म्याच’ घोषित भए।
यस खेलमा बनेका रोचक तथ्यांक र कीर्तिमानहरू (Stats and Trivia):
०.३४६ : कोलम्बोको आर प्रेमदासा स्टेडियममा पुरुष टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा श्रीलंकाको जित–हारको अनुपात। यहाँ खेलेका ३५ टी–२० खेलमध्ये श्रीलंकाले ९ वटा जितेको छ भने २६ वटा हारेको छ।
कुनै पनि एउटै मैदानमा १५ वा सोभन्दा बढी खेल खेलेका टोलीहरूमध्ये यो दोस्रो सबैभन्दा खराब रेकर्ड हो। सबैभन्दा खराब रेकर्ड युएईको नाममा छ, जसले दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलेका १७ खेलमध्ये ३ मा जित र १४ मा हार बेहोर्दै ०.२१४ को अनुपात बनाएको छ।
२०१४ : श्रीलंका पछिल्लोपटक पुरुष टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको वर्ष । उक्त वर्ष श्रीलंकाले विश्वकपको उपाधि नै जितेको थियो।
१ : एउटै टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० भन्दा बढी रन बनाउने र ४ विकेट लिने रचिन रवीन्द्र न्युजिल्यान्डका पहिलो खेलाडी बनेका छन्। समग्रमा पुरुष टी–२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने उनी चौथो खेलाडी हुन्।
८४ : सातौँ विकेटका लागि मिचेल सान्टनर र कोल म्याककोन्चीबिच भएको साझेदारी रन। पुरुष टी–२० विश्वकपमा सातौं वा त्यसभन्दा तल्लो क्रमको विकेटका लागि यो अहिलेसम्मकै उच्च साझेदारी हो। यसअघि सन् २०१० मा बंगलादेशविरुद्ध अस्ट्रेलियाका माइकल हसी र स्टिभन स्मिथले सातौँ विकेटकै लागि ७४ रनको साझेदारी गरेका थिए।
७० : न्युजिल्यान्डले डेथ ओभरमा (१७ देखि २० ओभरसम्म) जोडेको रन। पुरुष टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्डले डेथ ओभरमा बनाएको यो संयुक्त रूपमा सबैभन्दा उच्च रन हो। यसअघि २०२० मा वेस्ट इन्डिज र २०२२ मा स्कटल्यान्डविरुद्ध पनि न्युजिल्यान्डले डेथ ओभरमा ७० रन नै बनाएको थियो।
त्यस्तै, पुरुष टी–२० विश्वकपको इतिहासमा डेथ ओभरमा कुनै पनि टोलीले बनाएको यो संयुक्त रूपमा चौथो उच्च रन पनि हो। यसै संस्करणमा ओमानविरुद्ध आयरल्यान्डले डेथ ओभरमा सर्वाधिक ८६ रन बनाएको कीर्तिमान छ।
१ : टी–२० अन्तर्राष्ट्रियमा १००० रन र १०० विकेट पूरा गर्ने मिचेल सान्टनर न्युजिल्यान्डका पहिलो खेलाडी बनेका छन् । समग्र विश्व क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी आठौँ खेलाडी हुन्।
२०/२ : पावरप्ले (सुरुवाती ६ ओभर) मा श्रीलंकाको स्कोर। यो जारी विश्वकपमा कुनै पनि टोलीले पावरप्लेमा बनाएको सबैभन्दा कम रन हो। यसअघि वेस्ट इन्डिजविरुद्ध नेपालले बनाएको २२–३ पावरप्लेको सबैभन्दा कम स्कोर थियो।
साथै, पुरुष टी–२० अन्तर्राष्ट्रियमा श्रीलंकाले पावरप्लेमा बनाएको यो दोस्रो सबैभन्दा कम रन पनि हो। यसअघि २०२२ मा धर्मशालामा भारतविरुद्ध पावरप्ले सकिँदा श्रीलंकाको अवस्था १८–३ थियो।
३० : यस खेलमा स्पिनरहरूले बलिङ गरेको कुल ओभर संख्या। पुरुष टी(२० विश्वकपको एउटै खेलमा स्पिनरहरूले बलिङ गरेको यो दोस्रो सर्वाधिक ओभर हो। यसअघि यसै प्रतियोगितामा कोलम्बोमै भएको पाकिस्तान र भारतबिचको खेलमा स्पिनरहरूले सर्वाधिक ३१ ओभर बलिङ गरेका थिए।
यी ३० ओभरमध्ये न्युजिल्यान्डका स्पिनरहरूले मात्र १७ ओभर बलिङ गरेका थिए। टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्डका स्पिनरहरूले एउटै म्याचमा गरेको यो संयुक्त सर्वाधिक ओभर हो । यसअघि २०२३ मा लखनउमा भारतविरुद्ध पनि १७ ओभर गरेका थिए।







