डिजिटल मतदाता शिक्षा अभियान सुरु गर्दै निर्वाचन आयोगले वडा–वडामा खटायो स्वयंसेवक

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर विशेष मतदाता शिक्षा अभियान सुरु गरेको छ। आइतबार अर्थात् आजदेखि सुरु भएको अभियान फागुन १७ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ।

अघिल्ला निर्वाचनमा देखिएका कमजोरीलाई सुधार्ने उद्देश्यसहित यस पटक आयोगले कार्यक्रम आफ्नै नेतृत्वमा कार्यान्वयनमा ल्याएको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। विगतमा स्थानीय तहका कर्मचारीहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिँदै आएकोमा यस पटक भने आयोगले प्रत्येक वडामा एक–एक जना आफ्नै स्वयंसेवक नियुक्त गरेको छ।

स्थानीय तहबाट सञ्चालन गरिएका कार्यक्रमहरूमा अपनत्वको कमी देखिएको निष्कर्षका आधारमा आयोगले स्वयंसेवक स्वयं छनोट गरी तालिम दिएर कार्यक्षेत्रमा खटाएको हो। ती स्वयंसेवकहरूले स्थानीय भाषा, संस्कृति र परिवेशअनुसार मतदातालाई सही मतदान प्रक्रिया सिकाउनेछन्।

यस पटकको अभियानको प्रमुख आकर्षण ‘डिजिटल मतदाता शिक्षा’ रहेको घिमिरेले बताए। कागजको प्रयोग न्यूनीकरण गर्ने नीति अनुसार पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिइएको छ। आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मा उपलब्ध भिडिओ, एनिमेसन र डिजिटल ब्रोसरमार्फत मतदाता शिक्षाको सामग्री प्रस्तुत गरिनेछ।

घरदैलो कार्यक्रमका क्रममा स्वयंसेवकहरूले नमूना मतपत्र र स्वस्तिक छापको प्रयोग गर्दै मत बदर हुन नदिने व्यावहारिक तरिका सिकाउनेछन्। साथै अभियानको प्रभावकारिता मापन गर्न आयोगले प्रविधिमा आधारित अनुगमन प्रणाली अपनाएको छ।

प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोकिएको छ भने केन्द्रबाट ह्वाट्सएप ग्रुपमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको घिमिरेले जानकारी दिए। आयोगले मतदाताहरूलाई आफ्ना आधिकारिक डिजिटल प्लेटफर्म फलो गरी निर्वाचनसम्बन्धी सही सूचना लिन पनि आग्रह गरेको छ।