
काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले एक कार्यक्रम गरी आफ्नो १९औँ स्थापना दिवस मनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको स्थापना विशिष्ट ऐतिहासिक परिस्थितिमा भएको उल्लेख गर्दै यसको जन्म जनयुद्ध र जनआन्दोलनको बलबाट भएको स्मरण गरे ।
संगठनले नेपालको परम्परागत ब्युरोक्रेसीमा देखिएका विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै कर्मचारीतन्त्रको क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको उनले स्पष्ट पारे ।
संगठनले रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्नपर्नेमा जोड दिदै उनले यसमा आवद्ध सदस्य कर्ममचारीले सेवाग्राहीमैत्री ब्यवहार गर्ने मात्र नभई भ्ररष्टाचारबिरुद्द्ध र सुशासनको पक्षमा अग्र मोर्चामा रहन निर्देशन दिए ।
कार्यक्रममा अध्यक्षीय मन्तव्य राख्दै अम्बादत्त भट्टले स्थापना दिवसका अवसरमा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै एकता नै बल भएको बताए । जेनजी बिद्रोहको नाममा संगठनको भौतिक सम्पत्तिमाथि गरिएको आक्रमण र त्यसबाट पुगेको क्षतिका बारेमा समेत उनले जानकारी गराए । भदौ २४ गते संगठनको बबरमहलस्थित केन्द्रीय कार्यालय भवनमा आगो लगाइएको थियो ।
अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संगठनका महासचिव डिलाराम खनालले गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका महासचिव दमन रावल, कार्यालय सचिव रमा घिमिरे, विभिन्न राष्ट्रिय समितिका अध्यक्षहरू, सचिवालय सदस्यहरू तथा निजामती राष्ट्रिय समिति अन्तर्गतका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्थापना दिवसको कार्यक्रमले संगठनको इतिहास, उद्देश्य र भावी दिशाबारे साझा बुझाइ बनाउँदै एकता र प्रतिबद्धतालाई थप सुदृढ बनाएको नेता प्रकाश अवालेले प्रतिक्रिया दिए ।


