काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।
अध्यागमन विभागले ती अमेरिकी नागरिकलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । ती अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका थिए ।
जहाँ केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनादे चौधरीलगायत १३ जनाको नाम राखिएको पाइएको अध्यागमन विभागले जनाएको छ ।
यसका साथै लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरुको नाम समेत राखेको भेटिएको छ । ‘निकलेज इडीयू एनपी’ नामको वेबसाइटमा यस्तो प्रचार गरिएको विभागका प्रवक्ता टिकाराम ढकाल बताउँछन् । यो कलेजले कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस् स्टडिज् आदी अध्ययन गराउने सूचना राखेको थियो ।
यो कलेजलाई त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनेर प्रचार गरिए पनि आधिकारिक प्रमाणपत्र भने उनले पेस गर्न नसकेको प्रवक्ता ढकालले बताए ।
अहिले पक्राउ परेका ती अमेरिक नागरिक २०१४ देखि नेपाल आउन थालेको देखिएको प्रवक्ता ढकाल बताउँछन् । यो १२ वर्षको अवधिमा उनी ५० भन्दा बढी पटक नेपाल आएको देखिएको छ । उनी पर्यटक, वर्किङ, व्यवसायिक भिसामा नेपाल आउने गरेको देखिन्छ ।
व्यवसायिक भिसा लिनका लागि उनले नेपालमा कमसिड नेपाल प्रालि भनेर कम्पनी दर्ता गरेको भेटिएको छ । उनी नेपालमा चर्च प्लान्टिङ लगायतका काममा संलग्न भएको विभिन्न प्रमाणहरुले पुष्टि गरेको अध्यागमनले स्रोतले बताएको छ ।






