टोकियो । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट प्रस्थान गरेका राष्ट्रपति पौडेल सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
विमानस्थलमा उनलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा तथा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे। जापान सरकारको निमन्त्रणामा प्रथम महिला सबिता पौडेलसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल जापान भ्रमणमा पुगेका हुन्।
भ्रमणको पहिलो दिन सोमबार नै राष्ट्रपति पौडेलले जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष समारोहमा सहभागी हुने कार्यक्रम तय छ। यो भ्रमणले दुई देशबीच दशकौँदेखि कायम मित्रता, सहयोग र आपसी समझदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
राजनीतिक र कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको यस भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानका सम्राट् र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन्। माघ २० गते मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेल र जापानका सम्राट् नारुहितोबीच राजकीय शिष्टाचार भेट हुने तालिका छ।
सोही दिन उनले जापानकी प्रधानमन्त्री ताकाइची सानाएसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। यसका अतिरिक्त जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन्।
भ्रमण अवधिभर राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको छ भने नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने विशेष समारोहमा पनि सहभागी हुनेछन्।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसपछि क्रमशः सन् १९६५ मा टोकियो र सन् १९६७ मा काठमाडौँमा एकअर्काको दूतावास स्थापना गरिएको थियो। राष्ट्रपति पौडेल चारदिने औपचारिक भ्रमण सम्पन्न गरी माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ।







