प्रियंका शंकर । इजरायलले गाजामा दुई वर्षभन्दा बढी समयदेखि जारी नरसंहारकारी युद्धका क्रममा मृतकको सङ्ख्यालाई पटक–पटक अस्वीकार गर्दै आएको थियो।
लामो समयको बमबारीपछि अहिले इजरायली सेनाले गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अत्यन्तै कठिन परिस्थितिका बाबजुद सङ्कलन गरेको मृतकको तथ्याङ्कलाई स्वीकार गरेको देखिएको छ। सन् २०२३ अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएदेखि नै इजरायलले पत्रकार, प्यालेस्टिनी र गाजाका अधिकारीहरूले सार्वजनिक गरेका क्षति र मृत्युका विवरणलाई खारेज, अस्वीकार वा कम आँक्दै आएको थियो।
कहिलेकाहीँ उसले आफ्नै तथ्याङ्क सार्वजनिक गर्थ्यो र पछि परिवर्तन गर्थ्यो भने प्यालेस्टिनी अधिकारीहरूले मृतकको सङ्ख्या (विशेषगरी सर्वसाधारणको) बढाइचढाइ गरेको आरोप लगाउँथ्यो। तर, गत बिहीबार एक इजरायली सैन्य अधिकारीले पत्रकारहरूलाई बताएअनुसार, सेनाले युद्धका क्रममा गाजामा करिब ७०,००० मानिस मारिएको तथ्य स्वीकार गरेको छ।
गाजा स्वास्थ्य मन्त्रालयको अनुमान अनुसार, यस वर्षको जनवरी २७ सम्ममा कम्तीमा ७१,६६२ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ४८८ जनाको मृत्यु सन् २०२५ अक्टोबर १० मा गाजा क्षेत्रमा युद्धविराम घोषणा भएपछि भएको हो।
हजारौँ मानिसहरू बेपत्ता छन् र भग्नावशेषमुनि पुरिएको विश्वास गरिएको छ। नेसनल कमिटी फर मिसिङ पर्सन्सका अनुसार यो सङ्ख्या १०,००० नाघ्न सक्छ। यसैबिच, मन्त्रालयले युद्धका क्रममा कम्तीमा ४४० जनाको भोकमरीका कारण मृत्यु भएको बताएको छ।

वरिष्ठ इजरायली सैन्य अधिकारीले मारिएकामध्ये अधिकांश सर्वसाधारण (विशेषगरी बालबालिका र महिला) थिए वा सयौँको भोकमरीले मृत्यु भएको र हजारौँ भग्नावशेषमा पुरिएको भन्ने कुरा स्वीकार गरेनन्। यद्यपि, गाजा स्वास्थ्य मन्त्रालयको मृत्युको तथ्याङ्कलाई स्वीकार गर्नु इजरायलको विगतको दाबीभन्दा विल्कुलै फरक कदम हो।
यो एउटा ढाँचाको हिस्सा हो : गाजा युद्ध र त्यसभन्दा अघि पनि इजरायलले आफ्ना सेनाले गरेका हत्याका घटनाहरूलाई प्रमाण हुँदाहुँदै पनि अस्वीकार गर्ने र पछि तथ्य लुकाउन नसकिने भएपछि मात्र अनिच्छापूर्वक स्वीकार गर्ने गरेको छ।
इजरायलले अचानक गाजाको मृत्यु सङ्ख्या स्वीकार गर्नु र यसको अस्वीकार गर्ने इतिहास पछाडिको कारण के हो त ?
गाजामा मृतक र घाइतेको वास्तविक सङ्ख्या
सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएदेखि गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मृतकहरूको नाम र परिचयपत्र नम्बरको रेकर्ड राखेर गणना गर्दै आएको छ। मन्त्रालयले घाइतेहरूको सङ्ख्या र इजरायलले अत्यावश्यक सहायता रोकेका कारण भोकमरीले मृत्यु भएकाहरूको विवरण पनि राखेको छ।

मन्त्रालयका अनुसार जनवरी २७ सम्ममा युद्धमा कम्तीमा १,७१,४२८ जना घाइते भएका छन् भने युद्धविरामपछि थप १,३५० जना घाइते भएका छन्। संयुक्त राष्ट्रसंघ र मानव अधिकार समूहहरूले पनि स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई समर्थन गरेका छन्।
मानव अधिकार संस्थाहरूले इजरायली सेनाले जानाजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन्। युरो–मेड ह्युमन राइट्स मनिटर र अवकाश प्राप्त अमेरिकी विशेष बलका अधिकृत एन्थोनी एगुइलरका अनुसार, सन् २०२५ को मे देखि जुलाई महिनाको बिचमा मात्रै अमेरिकी नेतृत्वमा रहेका खाद्य वितरण केन्द्रहरूमा १,००० भन्दा बढी प्यालेस्टिनीहरू इजरायली सेनाद्वारा मारिए।
एगुइलरले सन् २०२५ मा बीबीसीसँगको विशेष अन्तर्वार्तामा भनेका थिए, ‘निस्सन्देह, मैले इजरायली सेनाद्वारा गरिएका युद्ध अपराधहरू देखेँ।’
इजरायलले यी तथ्यांकहरूबारे कस्तो प्रतिक्रिया दियो ?
युद्धको समयमा इजरायलले यी तथ्याङ्कहरूलाई भ्रामक वा तोडमोड गरिएको भन्दै अस्वीकार गर्यो। इजरायली सेनाले २०२५ मा खाद्य वितरण केन्द्रहरूमा सर्वसाधारणलाई निशाना बनाएको आरोप अस्वीकार गर्दै त्यहाँको ‘अराजकता’ ले सैनिकहरूलाई खतरा भएपछि गोली चलाउनुपरेको दाबी गर्यो।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इजरायली सेनाले जानाजानी सर्वसाधारणलाई निशाना बनाएको आरोपलाई ‘ब्लड लाइबल’ (यहुदीहरूले धार्मिक अनुष्ठानका लागि क्रिश्चियन बालबालिकाको रगत प्रयोग गर्छन् भन्ने ऐतिहासिक र यहुदी विरोधी झूटो आरोपसँग तुलना गर्दै) भन्दै अस्वीकार गरे।
सन् २०२४ सेप्टेम्बरमा नेतान्याहुले इजरायलले ‘आधुनिक सहरी युद्धको इतिहासमै सबैभन्दा कम सर्वसाधारण हताहत गराएको’ दाबी गरेका थिए। तर, सन् २०२५ अगस्टमा लिक भएको एक सैन्य प्रतिवेदनले इजरायलले मारेकामध्ये ८० प्रतिशतभन्दा बढी सर्वसाधारण रहेको निष्कर्ष निकालेको थियो।
स्वतन्त्र म्यागजिन ‘+९७२’ को सन् २०२४ अप्रिलको अनुसन्धानले इजरायली सेनाको ‘ल्याभेन्डर’ नामक आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले गाजाका हजारौँ मानिसलाई सम्भावित लडाकुका रूपमा चिन्हित गरी मार्नका लागि योग्य ठहराएको खुलासा गरेको थियो।

अहिले नै इजरायलले किन स्वीकार गरिरहेको छ ?
बिहीबार इजरायलले गाजामा ७०,००० मृत्यु भएको स्वीकार गर्नु दुई वर्षभन्दा बढी समयदेखिको अस्वीकार वा तथ्याङ्कलाई कमजोर देखाउने प्रयासपछिको घटना हो।
दोहास्थित हमाद बिन खलिफा विश्वविद्यालयका सार्वजनिक नीतिका वरिष्ठ प्राध्यापक सुल्तान बराकातका अनुसार इजरायलले अहिले मृत्युको सङ्ख्या स्वीकार गर्नुका पछाडि रणनीतिक कारण हुन सक्छन्।
उनले अल जजिरालाई भने, ‘सधैँझैँ, कुराको चुरो विवरणमा हुन्छ। अन्तर्राष्ट्रिय रूपमा राष्ट्रसंघ र अन्य मानवीय एजेन्सीहरूको पहुँच बढ्नु तथा भग्नावशेष हटाउने काम सुरु हुनुले अब अस्वीकार गरिरहन इजरायलका लागि असम्भव भयो।’ उनले यो कदमलाई संस्थागत विश्वसनीयता जोगाउन र अमेरिका तथा युरोपेली सरकारहरूलाई आफू गम्भीर रहेको देखाउन चालिएको कदमका रूपमा व्याख्या गरे।
साथै, हालैका घटनाक्रमहरूले ‘नरसंहार भयो कि भएन’ भन्ने प्रश्नभन्दा पुनर्निर्माण र जिम्मेवारीको बहसतर्फ विश्वको ध्यान मोडिएकोले इजरायलले आफ्नो तर्कलाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः स्थापित गर्न यो तथ्याङ्क स्वीकार गरेको हुन सक्ने बराकातले बताए। यसले भविष्यमा हुने कानुनी छानबिन र कारबाहीका लागि प्रतिरक्षाको आधार तयार गर्न पनि मद्दत पुर्याउन सक्छ।

इजरायलको अस्वीकार गर्ने इतिहास
विगतमा गाजा युद्धको मृत्यु सङ्ख्या अस्वीकार गर्नुका साथै इजरायलले गाजा र कब्जा गरिएको वेस्ट बैंकमा बालबालिका र पत्रकारहरूको हत्या गरेको आरोप पनि अस्वीकार गर्दै आएको छ।
१. हिन्द रजब (५ वर्षीया बालिका)
सन् २०२४ जनवरी २९ मा ५ वर्षीया हिन्द रजब र उनको परिवार चढेको कारलाई इजरायली ट्याङ्कले निशाना बनाउँदा उनको मृत्यु भयो। हिन्दले उद्धारकर्मीहरूलाई फोनमा ३ घण्टासम्म गुहार मागेकी थिइन्, तर उनी पनि मारिइन्। सुरुमा इजरायलले सो क्षेत्रमा आफ्ना सैनिक नरहेको दाबी गर्यो।

तर अल जजिराको अनुसन्धान एकाइ सनदले फोन रेकर्ड र स्याटेलाइट तस्बिरहरू विश्लेषण गरी इजरायली सेना त्यहीँ रहेको पुष्टि गर्यो। पछि इजरायली सेनाले आफ्नो दाबीबाट पछि हट्दै घटनाको समीक्षा भइरहेको बतायो।
२. शिरिन अबु अकलेह (अल जजिरा पत्रकार)
सन् २०२२ मे ११ मा पत्रकार शिरिन अबु अकलेहको हत्या हुँदा पनि इजरायलले सुरुमा प्यालेस्टिनी लडाकुलाई दोष दियो। तर भिडियो फुटेज र विभिन्न अनुसन्धानले इजरायली स्नाइपरले नै गोली हानेको पुष्टि गरेपछि, इजरायलले उच्च सम्भावना रहेको भन्दै स्वीकार गर्यो। सन् २०२३ मा इजरायली सेनाका प्रवक्ताले उनको मृत्युप्रति माफी मागेका थिए।

३. गाजाका एम्बुलेन्स कर्मचारी
सन् २०२५ मार्च ३० मा गाजामा १५ जना आपतकालीन कर्मचारीहरूको शव एउटा चिहानमा फेला पर्यो । इजरायली सेनाले सुरुमा बत्ती नबालेको र शंकास्पद रूपमा आएकोले गोली चलाएको दाबी गर्यो। तर, मारिएका प्यारामेडिकको फोनमा भेटिएको भिडियोले एम्बुलेन्सको बत्ती बलिरहेको स्पष्ट देखायो। पछि इजरायली सेनाले यसलाई ‘व्यावसायिक त्रुटि’ र ‘गलतफहमी’ भन्दै आफ्नो दाबी सच्यायो र शव तथा एम्बुलेन्स पुरेको विषयलाई लुकाउने प्रयास नभएको जिकिर गर्यो।
अस्वीकार गर्नुको अर्थ के हो?
प्राध्यापक बराकातका अनुसार इजरायलको यो अस्वीकार गर्ने र पछि स्वीकार गर्ने प्रवृत्ति ‘सूचना युद्ध’ को एक हिस्सा हो। यसले स्वतन्त्र अनुसन्धानलाई अलमल्याउन र कानुनी प्रक्रियाहरू (जस्तै अन्तर्राष्ट्रिय न्यायालय र अन्तर्राष्ट्रिय फौजदारी अदालत) मा मुद्दाहरूबाट बच्न वा समय लम्ब्याउन मद्दत गर्छ। सुरुमा अस्वीकार गरेर इजरायलले आफ्ना सहयोगीहरूसँग सन्देश समन्वय गर्न र कानुनी जोखिम मूल्याङ्कन गर्न समय पाउँछ। अल जजिरा







