काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएर कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूले ७ दिनभित्र भू-स्वामित्वसहितको पुनःस्थापना नभए पुरानै बसोबास क्षेत्रमा फर्किने चेतावनी दिएका छन्।
पीडितहरूले संयुक्त रूपमा प्रधानमन्त्री, गृहमन्त्री तथा भूमि व्यवस्था मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो स्थायी पुनःस्थापना, जमिनको स्वामित्व तथा सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित गर्न माग गरेका हुन्।
ज्ञापनपत्रमा थापाथली, गैरिगाउँ, शान्तिनगर, जडिबुटीलगायत क्षेत्रबाट उचित विकल्प, कानुनी प्रक्रिया र क्षतिपूर्ति बिना नै आफूहरूलाई जबरजस्ती विस्थापित गरिएको आरोप लगाइएको छ। तीन–चार पुस्तादेखि बसोबास गर्दै आएको थातथलो भत्काइएपछि रोजगारी, पशुपालन तथा बालबालिकाको शिक्षामा गम्भीर असर परेको उनीहरूको गुनासो छ।
पीडितहरूले होल्डिङ सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार, पोषणयुक्त खाना तथा सुरक्षाको अभाव रहेको उल्लेख गरेका छन्। समयमा उपचार नपाउँदा एक जनाको मृत्यु भएको तथा अन्य बालबालिका गम्भीर बिरामी रहेको दाबी पनि उनीहरूले गरेका छन्।
राज्यका निकायहरूले आफूहरूलाई ‘अतिक्रमणकारी’ र ‘माफिया’ जस्ता अपमानजनक शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका पीडितहरूले वैकल्पिक व्यवस्था बिना गरिने उठीबास तत्काल रोक्न, हाल सेन्टरमा रहेका नागरिकको स्वास्थ्य, खाद्य, सरसफाइ र सुरक्षाको व्यवस्था सुधार गर्न माग गरेका छन्।
उनीहरूले विस्थापित परिवारको आवास, रोजगारी तथा मानवीय गरिमामा पुगेको क्षतिको न्यायपूर्ण मूल्याङ्कन गरी राहत तथा दीर्घकालीन पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्ने बताएका छन्। साथै, बिना विकल्प घरटहरा भत्काउने र नागरिकलाई लामो समय अमानवीय अवस्थामा राख्ने जिम्मेवार पदाधिकारीमाथि स्वतन्त्र छानबिन गरी कानुनी कारबाही गर्न समेत माग गरेका छन्।
आफूहरू अपराधी नभई यसै देशका नागरिक भएको स्मरण गराउँदै पीडितहरूले एक साताभित्र भू-स्वामित्वसहित पुनःस्थापनाबारे ठोस निर्णय नभए आफ्नो ऐतिहासिक बसोबास क्षेत्रमा फर्किएर शान्तिपूर्ण रूपमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्।







