एपस्टिनसँग सम्बन्ध रहेको आरोप लागेपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेताले दिए राजीनामा

काठमाडौँ । बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ दस्तावेजहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेता पिटर म्यान्डेलसनले राजीनामा दिएका छन्।

एपस्टिनसँग उनको सम्बन्धबारे प्रश्न उठेपछि म्यान्डिलसनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनले पार्टीलाई थप लज्जित बनाउन नचाहेकाले आफूले राजीनामा दिने निर्णय गरेको बताएका छन्।

अमेरिकाको न्याय मन्त्रालयले हालै एपस्टिनसँग सम्बन्धित ३० लाख भन्दा बढी पृष्ठका नयाँ दस्तावेज सार्वजनिक गरेको थियो। यसमा भएका विवरणहरूले म्याण्डिलसनमाथि थप प्रश्न र छानबिनको माग भएको रोयटर्सले जनाएको छ।

म्यान्डिलसन बेलायतका पूर्वमन्त्रीसमेत हुन्। यसअघि नै एपस्टीनसँगको सम्बन्धका कारण उनलाई गत वर्ष अमेरिकाका लागि बेलायतका राजदूतको पदबाट हटाइएको थियो।

सार्वजनिक भएका दस्तावेजअनुसार एपस्टिनले सन् २००३ र २००४ मा म्यान्डिलसनलाई तीन पटक गरी कुल ७५ हजार अमेरिकी डलर भुक्तानी गरेको देखाइएको छ। ती तीनै कारोबार २५/२५ हजार डलरका थिए।

राजीनामापत्रमा म्यान्डेलसनले यस साता फेरि आफूलाई जेफ्री एपस्टीनसँग जोडेर चर्चा गरिएकोमा दुःख व्यक्त गरेका छन्। उनले आफूमाथि लागेका आरोप असत्य भएको दाबी गर्दै २० वर्षअघि आफूलाई भुक्तानी गरिएको भनिएको रकमबारे प्रमाण नभएको बताएका छन्।

‘ममाथि लगाइएका यी आरोपहरूको सत्यता जाँच गर्न आवश्यक छ। तर त्यस क्रममा लेबर पार्टीलाई थप अपमानित गर्न चाहन्नँ, त्यसैले म पार्टी सदस्यताबाट राजीनामा दिँदैछु,’ उनले भनेका छन्।