निर्वाचनपछि संसद बैठक पुतली बगैँचामा निर्माणाधीन नयाँ भवनबाटै सञ्चालन हुने

काठमाडाैँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरमै रहेको पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ्चालन गरिने भएको छ। 

संसद सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार सरकारले निर्वाचनपछिको संसद सञ्चालनका लागि सो भवन उपलब्ध गराउने जानकारी सचिवालयलाई गराइसकेको छ।

आइतबार प्रवक्ता गिरीले निर्माणाधीन संसद भवन परिसरमा रहेका १२ वटा भवनमध्ये हाललाई ६ वटा भवन प्रयोगका लागि उपलब्ध गराइने बताए। प्रतिनिधिसभा गठन भइसकेपछि राष्ट्रियसभाको बैठक पनि यही भवनबाट सञ्चालन गरिनेछ।

उनका अनुसार नयाँ संसद भवनको करिब ९० प्रतिशत भौतिक संरचना निर्माण भइसकेको छ। बाँकी काम चैत महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारसँग निरन्तर समन्वय भइरहेको पनि उनले जानकारी दिए। निर्वाचनपछि बस्ने प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सचिवालयले अन्य कुनै वैकल्पिक स्थानको खोजी नगरेको स्पष्ट पारे।

प्रवक्ता गिरीले आधुनिक प्रविधि प्रयोग गरी संसद सञ्चालन गर्न आवश्यक तयारी अघि बढाइएको बताए। यसअघि प्रतिनिधिसभा बैठक बस्दै आएको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि प्रयोगविहीन बनेको थियो।

उक्त भवनको पुनर्निर्माण कार्य हालसम्म सुरु हुन सकेको छैन। अहिले राष्ट्रियसभाको १९औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको सभाहलबाट सञ्चालन भइरहेको छ।