काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली र त्यसतर्फ जानेहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ।
आइतबार मन्त्रालयले पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजरमा राखेर सामान्य अवस्थामा नफर्किँदासम्म इरान जाने योजना नबनाउन अनुरोध गरेको छ।
त्यस्तै कामको सिलसिलामा इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि यथाशक्य चाँडो फर्किन पनि अनुरोध गरेको छ।
‘पछिल्लो घटनाक्रमलाई मध्यनजरमा राखेर नेपाली नागरिकहरूलाई अवस्था सामान्य नहुँदासम्मका लागि इरान भ्रमणको योजना नबनाउन अनुरोध गरिन्छ। त्यसैगरी बसोबास गर्दै आएका वा कामको शिलशिलामा नेपाली नागरिकहरूलाई पनि सकेसम्म चाँडो कुनै पनि माध्यमबाट इरान छाड्न सुझाव छ,’ ट्राभल एड्भाइजरीमा भनिएको छ।
त्यसैगरी इरानमा रहेका नेपाली नागरिकहरूका लागि कुनै पनि समयमा आपतकालीन देश छाड्न राहदानी, परिचयपत्र लगायत महत्वपूर्ण कागजातहरू तयारी अवस्थामा राख्न पनि भनेको छ। समन्वयका लागि दोहास्थित दूतावास र काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न पनि भनिएको छ।
इरानमा डिसेम्बर २८ देखि महंगी, मुद्रास्फिति र सरकारको आर्थिक नीतिको विरोध गर्दै प्रदर्शन हुँदै आएको छ। त्यस प्रदर्शनको क्रममा धेरै मानिस मारिएका छन्। इरान सरकारले मृत्यु हुनेको आधिकारिक संख्या सार्वजनिक गरेको छैन।
सुरूआतमा इरानी मुद्राको बढ्दो अवमूल्यन र महँगीको विरोधमा सुरू भएको प्रदर्शन विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई हटाउनुपर्ने मागसम्म पुगेको छ। यसमा अमेरिकाको भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शन सुरू भएपछि आफू प्रदर्शनकारीको पक्षमा रहेको बताएका थिए। त्यति मात्रै होइन प्रदर्शनकारीमाथि गोली चलाए त्यसमा अमेरिकाले प्रदर्शनकारीको सुरक्षाका लागि हस्तक्षेप गर्ने चेतावनी दिएका थिए। पछि उनले प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले इरानी नेतृत्वमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।
यसले प्रदर्शनकारीहरूलाई बल दिएको र प्रदर्शन झन् तीव्र बनेको भनेर रोयटर्सले लेखेको छ। इरानले उक्त मामिला आफ्नो आन्तरिक मामिला भएको बताउँदै हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। सर्वोच्च नेता खामेनीले हिंसात्मक प्रदर्शनकारीहरूलाई आतंककारीको संज्ञा दिँदै परिस्थिति नियन्त्रणमा लिनका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका थिए।








