निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग हतियार सापटी मागेको छ।

निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्ने सर्तमा जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए। उनका अनुसार प्रहरीले सेनासँग २ हजार ८ सय थान पेस्तोल माग गरेको छ, जसलाई सेनाले स्वीकृत गरिसकेको छ।

‘हाम्रो मागअनुसार सेनाले हतियार उपलब्ध गराउने निर्णय गरेको छ,’ ती उच्च अधिकृतले भने। सेनाबाट सापटी लिइने पेस्तोलहरू प्रदेशहरूमा पठाइने र आवश्यकता अनुसार निर्वाचन सुरक्षामा प्रयोग गरिने प्रहरी प्रधान कार्यालयको तयारी छ।

यसअघि २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा पनि प्रहरीले सेनासँग २ हजार ८ सय थान हतियार सापटी लिएर प्रयोग गरेको थियो। त्यस्तै, २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा समेत प्रहरीले चिनियाँ पेस्तोल सेनासँग सापटी लिएको थियो।