काठमाडौं । शब्दयात्रा प्रकाशनद्वारा आयोजित पुरस्कार समर्पण, पुस्तक तथा देवीप्रार्थना भजन सार्वजनिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। शब्दयात्रा प्रकाशनको नियमित सांस्कृतिक–साहित्यिक अभ्यासअनुसार कार्यक्रम यसपटक मौलिक र फरक ढाँचामा सञ्चालन गरिएको थियो।
कार्यक्रमको शुभारम्भ वाणीकी देवी वागीश्वरी शारदाको प्रार्थनासहित गरिएको थियो। कार्यक्रम सञ्चालन सञ्चालक समितिका आमन्त्रित सदस्य अमृत अधिकारीले गरेका थिए भने सहभागीहरूको उपस्थिति अभिलेखीकरण र छायाङ्कन क्रमशः संगीता केसी र मनोज अमात्यले गरेका थिए ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा संस्थालाई शब्दयात्रा पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कार प्राप्त गर्नेहरूमा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी, देउडा गायक नन्दकृष्ण जोशी, मधुमेह, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डा. दीपक मल्ल, नियात्राकार रमेशमोहन अधिकारी, साहित्यकार दिल पौडेल, योगाचार्य योगिनी सरितानन्दी, कृषि उद्यमी गोविन्द शर्मा, पत्रकार ज्ञानेन्द्रनाथ न्यौपाने, मटिहानी (महोत्तरी) स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुल तथा उर्लाबारी (मोरङ) स्थित नमुना बालगृह रहेका छन्।
कार्यक्रममा दिवङ्गत बद्रीविक्रम थापा, जीवनचन्द्र कोइराला, क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे तथा टोपकुमारी–तुलसीप्रसाद आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
यसै अवसरमा गीता मञ्जुश्रीद्वारा सम्पादित ‘शब्दयात्रा प्रकाशनका चौध वर्ष’ शीर्षकको २६६औँ पुस्तक सार्वजनिक गरिएको छ। साथै हरि मञ्जुश्रीको शब्द तथा संगीत, वसन्त कुइकेलको स्वर र मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा तयार गरिएको देवीप्रार्थना भजन पनि सार्वजनिक गरिएको थियो।
कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा नारायणी–शङ्कर शिक्षा पुरस्कार कोष अन्तर्गत शिक्षासेवी शङ्करप्रसाद मानन्धरले शब्दयात्रा प्रकाशनलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका आयोजकले जानाएको छ। उक्त रकमलाई दीर्घकालीन पुरस्कार कोषका रूपमा सञ्चालन गर्ने सम्झौतामा सोही दिन हस्ताक्षर गरिएको जनाइएको छ।
कार्यक्रमको समापन अतिथि शीतल गिरीको समीक्षा मन्तव्यसहित गरिएको थियो। समापन गान, सामूहिक नृत्य, सामूहिक तस्बिर खिच्ने कार्यक्रम तथा जलपानपछि औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।







