नगदेशमा ध्वाक्सी गणेश मन्दिर पुनर्निर्माण शुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले सांस्कृतिक सम्पदा संरक्षण र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वडा नं. ७ स्थित ऐतिहासिक ध्वाक्सी गणेश मन्दिर को पुनर्निर्माण कार्य सुरु गरेको छ। प्राचीन स्वरूप जोगाउने लक्ष्यसहित अघि बढाइएको यो आयोजनाले ध्वाकासी परिसरको समग्र मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ।

धार्मिक विधिसहित शिलान्यास
२०८२ पुस ९ गते आयोजित विशेष समारोहमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, वडा अध्यक्ष कृष्ण कुमार, वडा सदस्य शर्मिला विश्वकर्मा र भक्तराज आचार्यलगायतको उपस्थितिमा मन्दिरको जग पूजा तथा शिलान्यास सम्पन्न भयो। कार्यक्रममा स्थानीय नगदेशवासीहरूको उल्लेख्य सहभागिता देखियो। नेवारी परम्पराअनुसार मन्दिरको जगमा पुराना सिक्का र तामाका भाँडाकुँडा अर्पण गरिएको थियो, जसलाई शुभ मानिने धार्मिक विश्वास छ।

सम्पदा जोगाउँदै पर्यटन प्रवर्द्धन
कार्यक्रममा नगर प्रमुख श्रेष्ठले सम्पदा संरक्षणले नगरको पहिचान जीवन्त राख्ने बताए। स्थानीय कला–संस्कृति जोगिए मात्र मौलिकता सुरक्षित रहने र यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ थियो।
उपप्रमुख श्रेष्ठले मध्यपुर थिमिका पुरातात्त्विक सम्पदालाई अक्षुण्न राख्दै नगरलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको उल्लेख गरे। ध्वाक्सी गणेश मन्दिरको पुनर्निर्माण त्यसै दिशातर्फको महत्वपूर्ण कदम भएको उनले बताए।

ध्वाकासी परिसरको एकीकृत विकास
ध्वाकासी क्षेत्रमा एकीकृत विकास योजना अघि बढाइएको छ। मन्दिरसँगै रहेको कलात्मक फल्चा (पाटी) गत आर्थिक वर्ष २०८१/०८२ मै सम्पन्न भइसकेको छ। चालू आर्थिक वर्षभित्रै ऐतिहासिक ‘ध्वाका’ (प्रवेशद्वार) पुनर्निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसै क्षेत्रमा बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माणको बजेट पनि सुनिश्चित गरिएको छ। यी परियोजना सम्पन्न भएपछि ध्वाकासी परिसर स्थानीय तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

प्राविधिक विवरण र समयसीमा
नगरपालिकाको पूर्ण लगानीमा सञ्चालित यो परियोजनाको कूल लागत रु. २९,९९,९४५.९४ (करिब ३० लाख) रहेको छ। मन्दिरको प्राचीन मौलिकता र वास्तुकला यथावत् राख्दै निर्माण कार्य अघि बढाइनेछ ।

परियोजना सञ्चालनका लागि रोशन बाडेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ भने साइट इन्चार्जका रूपमा इ. मनिषा श्रेष्ठ तोकिएका छन्। आयोजनालाई २०८३ वैशाख ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।