काठमाडौँ । नेपाली कांग्रेसको दुई पक्ष निर्वाचन आयोगअगाडि आमनेसामने भएका छन् । पार्टीको आधिकारिकतालाई लिएर दुई पक्ष नाराबाजीमा उत्रिएको हो ।
गगन थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू केहीबेरअघि मात्रै निर्वाचन आयोग परिसर पुगेर धर्ना दिएका हुन् ।
देउवा नेतृत्वको कांग्रेसको तर्फबाट तरुण दल अध्यक्ष विद्वान गुरुङसहित युवाहरू निर्वाचन कार्यालयअगाडि धर्ना दिँदै नाराबाजी गरिरहेका छन् ।
थापा नेतृत्वको कांग्रेस हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिता दिन माग गर्दै आयोग पुगेको छ भने देउवा नेतृत्वको कांग्रेस पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आफूहरू नै आधिकारिक कांग्रेस भएको बताउँदै पुगेको छ ।
दुवैले विवरण अध्यावधिक गर्न आयोगसमक्ष निवेदन पनि दिएका छन् । आजैमात्र दुवै समूहले आयोगका पदाधिकारीसँग छलफल पनि गरेका थिए ।
दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।







