काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयले तयारी थालेको छ ।
लामिछानेको हकमा मात्रै मुद्दा फिर्ता गर्दा विवादमा मुछिएपछि सबै अभियुक्तको हकमा लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता गर्ने तयारी गरेको हो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले यसअघि रवि लामिछानेको हकमा मात्रै यस्ता अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
तर यसमा त्रुटि भएकाले सबैको हकमा यो निर्णय कार्यान्वयन गर्न सरकारी वकिल कार्यालयलाई निर्देशन दिइसकेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जानकारी दिएको छ । यसअघि बुधबार भने महान्यायाधिवक्ताले रविविरुद्ध मात्रै यस्तो मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।
‘रवि लामिछाने प्रतिवादी भएको मुद्दाहरूमा समेत लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालत, काठमाडौँ जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ’, महान्यायाधिवक्ता भण्डारीको निर्णयमा उल्लेख छ।







