काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता घोषणालगत्तै कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीभित्र तीव्र असन्तुष्टि र आन्तरिक कलह सुरू भएको छ।
विशेषगरी संघीयता र धर्मनिरपेक्षता जस्ता गम्भीर सैद्धान्तिक मुद्दामा सहमति जुट्न नसकिरहेका बेला पदीय भागबण्डा र पूर्वसहमति उल्लंघनको विषयले विवाद थप उत्कर्षमा पुगेको हो।
उज्यालो नेपालका नेताहरूले रास्वपाको नेतृत्व तहले गरेको व्यवहारलाई ‘अपमानजनक’ भन्दै एकता प्रक्रियामाथि नै प्रश्न उठाउन थालेका छन्। यसै सन्दर्भमा, काठमाडौंको बौद्धस्थित एक होटलमा शुक्रबार साँझ उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीको बैठक बसेको थियो।
बैठकमा पार्टी नेता कुलमान घिसिङले रास्वपाका सभापति रवि लामिछानेसँग आजै बिहान भएको छलफल र त्यसको गाम्भीर्यताबारे ब्रिफिङ गरेका छन्।
घिसिङले रास्वपा नेतृत्व एकताका लागि गरिएका पूर्वसहमति कार्यान्वयनमा इमानदार नदेखिएको भन्दै सदस्यहरूलाई जानकारी गराएका छन्।
रवि लामिछाने व्यक्तिगत रूपमा सकारात्मक देखिए पनि रास्वपाको सचिवालय र ‘कोर टिम’ ले सहमतिको पालनामा दबाब महसुस नगरेको र सहमतिलाई उपेक्षा गरेको निष्कर्ष बैठकमा निकालिएको छ।
स्रोतका अनुसार, एकताका बखत ३० प्रतिशत प्रत्यक्ष उम्मेदवार, २६ जना केन्द्रीय सदस्य र १८ जना समानुपातिक उम्मेदवार उज्यालो नेपाललाई दिने प्रारम्भिक समझदारी भएको थियो।
तर, अहिले आएर समानुपातिकतर्फ १८ जनाको ठाउँमा १४ जनाको मात्र नाम समावेश गरिएको र पहिला सांसद बन्ने निश्चित भएका ६ जनाको क्लस्टर समेत काटिएको भन्दै उज्यालोका नेताहरू रूष्ट छन्।
निर्वाचन आयोगमा ५१ जना सदस्य अद्यावधिक रहेको उज्यालो नेपालको ९४ सदस्यीय केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले अहिलेको ‘यथास्थिति’ मा एकतालाई अगाडि बढाउन नसकिने धारणा राखेका छन्।
रास्वपाले ठूलो पार्टीको अहंकार देखाएको र आफ्ना उम्मेदवारहरूको नाम काट्ने काम गरेको भन्दै बैठकमा तीव्र आक्रोश व्यक्त भएको छ।उज्यालो नेपालका नेताहरूले आफ्नो पार्टीको प्रतिष्ठा र आगामी निर्वाचनको तयारीलाई दृष्टिगत गर्दै अपमान सहेर बस्नुभन्दा ठोस निर्णय लिनुपर्नेमा जोड दिइरहेका छन्।







