श्री स्वस्थानी व्रत शुरु

काठमाडौं । आज पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दू नारीहरूले श्रद्धा, भक्ति, आस्था र संयमका साथ हरेक वर्ष मनाउँदै आएको स्वस्थानी व्रत विधिवत् रूपमा सुरु भएको छ।

एक महिनासम्म चल्ने यो व्रत माघ शुक्ल पूर्णिमामा समापन गरिन्छ ।

स्वस्थानी व्रत विशेषगरी शिव–पार्वतीको कथा समेटिएको स्वस्थानी व्रतकथा श्रवण, पूजा–आराधना तथा धार्मिक विधिपूर्वक जीवनयापन गर्दै सम्पन्न गर्ने परम्परा छ।

व्रतका क्रममा बिहान सबेरै स्नान गरी शिवलिङ्ग तथा देवी स्वस्थानीको पूजा गर्ने चलन रहिआएको छ। काठमाडौको पौराणिक शालीनदीमा स्नान गरी श्री स्वस्थानी माताको मन्दिर दर्शन र पूजा आराधना गर्नेको घुइँचो आजबाट एक महिना रहन्छ ।

धार्मिक विश्वासअनुसार स्वस्थानी व्रतले पारिवारिक सुख–शान्ति, रोगव्याधिबाट नास, सन्तान सुख, जीवन सम्पन्न हुनुका साथै परलोक समेत सुधार हुनेछ ।

स्वस्थानी व्रत प्रभावले पार्वतीले महादेव वर पाएको बिश्वास सहित विशेषगरी आफूले चिताएको वर प्राप्ति र विवाहित नारीहरूले पति र परिवारको दीर्घायू र कल्याणको कामना गर्दै व्रत गर्ने गर्छन्।