राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा मरासिनी

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठताको आधारमा डा. मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेकी हुन्। एघारौँ तहमा कार्यरत डा. मरासिनी ट्रमा सेन्टरका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्।

डा. मरासिनी यसअघि पनि ट्रमा सेन्टरको प्रमुख भइसकेका छन्। प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले सबैलाई समेटेर अघि बढ्ने बताएका छन्। हेल्दीखबरसँग कुरा गर्दै उनले जेन–जी पुस्ताको भावना र सोचअनुसार संस्थालाई अगाडि बढाउने प्रतिक्रिया दिए।

स्वास्थ्य मन्त्री शर्माले यसअघि नै वरिष्ठताको आधारमा ट्रमा सेन्टरको प्रमुख नियुक्त गर्ने बताउँदै आएकी थिइन्। कानुनअनुसार काम गर्ने र संस्थामा थिति बसाल्ने उद्देश्यले डा. मरासिनीलाई प्रमुख मेसुमा नियुक्त गरिएको उनको भनाइ छ।

यसअघि ट्रमा सेन्टरको प्रमुख डा. बद्री रिजाल थिए। रिजाल नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेपछि पदबाट राजीनामा दिएका थिए।