काठमाडौँ । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान ढिला हुने भएको छ।
विद्युतीय मेसिनबाट हुने यो मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले मेसिनमा इन्ट्री गराउन समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ।
भोटिङ मेसिन उत्पादक कम्पनीका प्रमुख रामप्रसाद रिमालले आज पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम मिलाएर सच्याएर पठाएको भन्दै त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन समय लागेको बताए ।
अब वर्णानुक्रम अनुसार मेसिनमा नामहरू इन्ट्री गरिने उनले बताए। नाम इन्ट्री गरेपछि निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले हेरेर प्रमाणीकरण गर्नेछन्। मेसिनमा उम्मेदवारहरूको फोटो पनि राखिने भएको छ। फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको रिमालले बताए।
नेकपा एमालेले भने मतदानका लागि मेसिन तयार गर्न कम्पनीलाई ताकेता गरेको छ। एमालेले ताकेता गरे पनि करार सम्झौता अनुसार १२ घन्टाअघि नामावली उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको रिमालले बताए।
छिटो गरी सुरू गर्दा पनि साँझ ८ बजे मात्र मतदान सुरू हुने उनले बताए। मतदानपछि गणना गर्न ३ देखि ४ घन्टा लाग्ने रिमालले उल्लेख गरे। नेकपा एमालेको निर्वाचन आयोगले पनि साँझ ८ बजे मतदन सुरु हुने सूचना प्रकाशित गरेको छ।
एक जनाले मतदान गर्न ४० मिनेट लाग्ने रिमालले उल्लेख थिए। १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन्। ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्।
नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ। भोलिदेखि हल अर्कै कम्पनीलाई भाडामा दिएका कारण एमालेलाई समयमै मतदान सक्न दबाब छ। अर्कातर्फ नेकपा एमालेको ईश्वर पोखरेल पक्षले भने राति मतदान गर्न नहुने अडान लिइरहेको छ।







