काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ ।
यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । आइतबार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो ।
प्रहरीका अनुसार मृतकमध्ये एक जना बन्दुकधारी पनि छन् । अर्को संदिग्ध आक्रमणकारी गम्भीर अवस्थामा रहेको बताइएको छ । गोलीकाण्डमा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । हाल करिब ४० जना अस्पतालमा उपचाररत छन् ।
गोली चलेको सूचना पाएपछि न्यु साउथ वेल्स प्रहरीले तत्काल अपरेसन सुरु थालेको थियो । न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ ।
प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा पुलबाट दुई जना बन्दुकधारीले पार्कतर्फ लगातार गोली प्रहार गरेको देखिन्छ ।
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार प्रहरीले ‘एक्टिभ सुटर’को सूचनामा आधारित भएर कारबाही गरिरहेको छ । स्थानीय सञ्चारमाध्यम सेभेन न्यूजका अनुसार गोलीको आवाजपछि सयौँ मानिस समुद्र तटबाट भाग्दै गरेको दृश्य देखिएको थियो ।
घाइतेको उपचारमा रगत अभाव
यसैबीच, घाइतेहरूको उपचारका लागि सिड्नीका अस्पतालमा रगतको अभाव देखिएपछि लाइफ ब्लड अष्ट्रेलियाले ‘ओ’ नेगेटिभ रगतको आपतकालीन माग गरेको छ ।
सिड्नीका बासिन्दालाई रक्तदान गर्न आग्रह गरिएको छ । अत्यधिक चापका कारण लाइफ ब्लडको वेबसाइटमा अस्थायी प्राविधिक समस्या आएको जनाइएको छ । घटनाको अनुसन्धान जारी रहेको र मृतक तथा घाइतेको विवरण अद्यावधिक हुने प्रहरीले जनाएको छ ।







