काठमाडौ । अन्तरिम सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लगाएको घडी माथि प्रश्न उठेपछि उनले स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्चालमा मन्त्री खरेलले रोलेक्स ब्रान्डको महँगो करिब करोड मूल्य हाराहारीको घडी लगाएका र त्यो उनले मन्त्री हुनासाथ उपहार पाएका भनी ट्रोल भएपछि उनले स्पष्टीकरण दिएका हुन् ।
आफूले लगाएको घडी ‘रोलेक्स’ नभई ‘रुस्टर’ (Rooster) नामक जापानी ब्रान्डको भएको उनले टेलीफोनमार्फत पत्रकार सुमन ढुङ्गानालाई स्पष्टीकरण सुनाए ।
जापानमा बस्ने उनका दाइ डा. दिपेश खरेलले नेपाल आउँदा घडी छोडेका र आफूले बिगत चार वर्ष देखि सो घडी प्रयोग गरिरहेको उनले बताएका छन् ।
घडीको मूल्य केही हजार मात्र रहेको र आफूले गुगलमा त्यसको मूल्य समेत थाहा नपाएकोले पत्ता लगाइदिन समेत उनले पत्रकार ढुङ्गानालाई व्यंग्यात्मक आग्रह गरेका छन् ।
पत्रकार ढुङ्गानाले १ महिनामै रोलेक्स मन्त्री ज्यु सत्य बोल्नु होला भन्दै शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरेपछि शनिबार मन्त्री खरेलले सो विसयमा उनीसंग संवाद गर्दै स्पष्टीकरण दिनुपरेको हो ।
राजनीतिक दलका नेता र उनीहरूका आफन्तको पहिरनलाई लिएर गुगल सर्च गरि मूल्य ट्रोल गर्ने प्रवित्ति रहेकोमा जेन-जी आन्दोलन पछ सो सम्बन्धि ट्रोल हुनेमा मन्त्री खरेल पहिलो बने । यद्यपि उनले आफू पत्रकार हुनुको फाइदा लिँदै तुरुन्तै स्पष्टीकरणमार्फत विषय स्पष्ट पार्ने प्रयास गरेका छन् ।







