काठमाडौं । अनेरास्ववियुकी विदेश विभाग प्रमुख स्मृति बरालले नेकपा एमाले र त्यसका जनवर्गीय संगठनसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले विद्यार्थी आन्दोलन आफ्नो पहिचान भए पनि अब कुनै दलको झण्डामुनि होइन, देशको झण्डामुनि मात्र निरन्तरता दिने बताइन्।
उनले भनिन्, “विद्यार्थी आन्दोलन मेरो आन्दोलन हो, मेरो पहिचान हो। आज जुन तरिकाले राज्यले दमन गर्यो, त्यो केवल दमन मात्र होइन, शासकको दम्भको खुला प्रदर्शन हो।”
बरालले अनेरास्ववियुले आफूलाई परिचय दिलाए पनि आज आफ्नै अस्तित्व जोगाउन असफल भएको टिप्पणी गरिन्। उनका अनुसार विद्यार्थी वा युवाको आन्दोलन कुनै संगठनको झण्डामुनि मात्र सीमित नभई देशकै झण्डा ओढेर पनि अघि बढ्न सकिने छ।
उनले थपिन्, “पार्टीको जिम्मेवारीमा रहँदा सकेको प्रश्न गरेँ, सकेको जति लडेँ। अब मेरो आन्दोलन देशकै झण्डामुनि मात्र हुनेछ।”
यस घोषणापछि उनी औपचारिक रूपमा नेकपा एमाले तथा अनेरास्ववियुसँग अलग भएकी हुन्।जेनजी युवाको बिरोध प्रदर्शन विरुद्ध सरकारले २० जनाको ज्यान निले र सयौं युवालाई घाइते बनाउने ब्यापक दमन गरेपछि बराल असन्तुष्ट बनेकी हुन् ।







