काठमाडौँ । कान्तिपुर टेलिभिजनका पत्रकार किरण पौडेल न्याय र कानुन सम्बन्धी पत्रकारिता मार्फत न्याय क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित भएका छन्।
काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनले पौडेललाई स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक प्रक्रियाबारे जनचेतना फैलाउन गरेको उल्लेखनीय प्रयासका कारण कदरपत्रसहित सम्मान प्रदान गरेको हो।
२०८०/८१ र २०८१/८२ सालको वार्षिक साधारणसभा तथा सुवोधबाबु चिलुवाल नेतृत्वको नयाँ कार्यसमितिको पदभार ग्रहण समारोहका अवसरमा पौडेललाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेधि, काठमाडौँ जिल्ला अदालतका वरिष्ठ न्यायाधीश चुरामन खड्का र बार अध्यक्ष रामचन्द्र पौडेलले संयुक्त रूपमा सम्मान पत्र प्रदान गरेका थिए।
पत्रकार पौडेल विगत लामो समयदेखि न्यायपालिका, संवैधानिक आयोग र परराष्ट्र मामिलासम्बन्धी विषयमा समाचार सम्प्रेषण गर्दै आएका छन्। हाल कान्तिपुर टेलिभिजनमा कार्यरत पौडेल ननस्टपखबरका समेत सल्लाहकार हुन् ।







