दलदलमा दुई तिहाइको सत्ता गठबन्धन, उपसभामुख हटाउन असफल

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी अन्तिम क्षणमा असफल भएको छ। नेपाली कांग्रेस र एमालेले आज दिउँसो १ बजे संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने योजना बनाए पनि कांग्रेसभित्रैको असहमतिको कारण उक्त प्रयास अघि बढ्न सकेन।

यसअघि दुवै दलले बिहान संसदीय दल को आकस्मिक बैठक बोलाई सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न आग्रह गरेका थिए। पूर्व मन्त्री समेत रहेका एमाले नेता गोकुल बास्कोटाले खाली कागजमा हस्ताक्षर गराइएको स्वीकार गरे ।” उदेश्य के हो थाहा भएन, खाली कागजमा सही गराइयो।” उनले भने ।

तर,एमाले जति मच्चिएनि कांग्रेसभित्रको शेखर कोइराला समूहले साथ नदिएपछि थच्चिएको छ । उपसभामुख हटाउने कदममा कोइराला पक्षले साथ नदिँदा योजना विफल भएको हो।

स्रोतका अनुसार कोइरालाले आफ्ना निकट सांसदहरुलाई फोन गरेर हस्ताक्षरको प्रयोजन स्पष्ट नभएसम्म समर्थन नगर्न निर्देशन दिएका थिए। परिणामस्वरूप, कोइराला समूहका सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरे।

कतिपय सांसद काठमाडौंबाहिर रहेका कारण पनि पर्याप्त हस्ताक्षर जुटाउन कठिन भएको बताइएको छ ।

यसरी, कांग्रेसभित्रको आन्तरिक असहयोगका कारण एमाले- कांग्रेस बीचको सहकार्यमा अघि बढेको उपसभामुख हटाउने योजना दुई तिहाई पुर्याउन नसकी तत्कालका लागि रोकिएको छ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि बहुमत पुर्याउन उपसभामुखलाई हटाउन सत्तारूढ दलहरुले हतार गरेका श्रोतको दावी छ ।