चरा ठोक्किएपछि निगमकाे नयाँ चिनियाँ जहाज ग्राउण्डेड

काठमाडौं । चीनबाट ल्याइएको नेपाल वायुसेवा निगमको जहाजमा  विहान चरा ठोक्किएको छ । निगमको एमए-६० चिनियाँ जहाज आज बिहान विराटनगर एअरपोर्टमा चरा ठोक्किएको हो ।
काठमाडौंबाट ५१ जना यात्रु लिएर उडेको उक्त विमान विराटनगरमा अवतरण गर्नेक्रममा चरा ठोक्किएको निगम स्रोतले जनाएको छ । विमानको दायाँ इन्जिनमा जोडिएको प्रोपेलर (पंखा) मा चरा ठोक्किएको हो । एल्मुनियमले बनेको उक्त पंखामा चरा ठोक्किएपछि त्यसमा क्षति पुगेको छ । प्रोपेलरमा क्षति पुगेपछि विमान ग्राउण्डेड गरिएको छ । विराटनगरमा पनि ५१ जना यात्रुले निगमको जहाजमा काठमाडौं आउन टिकट काटेका थिए । ५६ सिट क्षमताको नयाँ जहाजले काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान भर्दै आएको छ ।
असार ११ देखि औपचारिक उडान सुरु गरेको जहाज एक साता नपुग्दै ‘ग्राउण्डेड’ भएपछि निगमको व्यवस्थापनमा प्रश्न उठेको छ । स्रोतका अनुसार चिनियाँ जहाजको स्पेयर पार्टहरु नआउँदै जहाज उडाइएकाले केही दिन अझै ग्राउन्डेड हुने देखिन्छ । उक्त जहाजको स्पेयर पार्टहरु चिनबाट आइसकेको भए पछि विरगंज भन्सारमा अड्किएर बसेका थिए । निगम स्रोतले आजै विरगंज भन्सारबाट ती सामान छुटाइएको छ । ती सामानरु विरगंजबाट काठमाडौंमा आउने र काठमाडौं भन्सारबाट छुटाएपछि पुनः विराटनगर लगेपछि बल्ल जहाजको प्रोपेलर बनाउने कार्य सुरु हुनेछ । इन्जिनसँग जोडिएको प्रोपेलरले जहाजको स्पिड कन्ट्रोल गर्नुका साथै अन्य महत्वपूर्ण कार्य गर्दछ ।

Loading...