थाई लगानीकर्तालाई पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डबीच कैयौँ सांस्कृतिक समानता रहेको बताएकी छन्।

काठमाडौंमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रहिआएको र दुई देशका बीचमा सांस्कृतिकसहित विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गरिन्।

राणाका अनुसार, पाहुनाको स्वागत गर्ने परम्परा, बहुधार्मिक र बहुसांस्कृतिक मूल्य–मान्यताको सम्मान, सहिष्णुता, पर्यटनप्रतिको सकारात्मक दृष्टिकोण र पर्यटनमार्फत् प्राप्त हुनसक्ने समृद्धिका पक्षहरू दुई देशबीचको साझा विशेषता हुन्।

उनले पर्यटनलाई साझा समृद्धि र सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गर्दै नेपालमा पर्यटनको अपार सम्भावना रहेको बताइन । यस सन्दर्भमा थाई लगानीकर्ताहरूलाई पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न आग्रह गरिन्।

नेपाल उद्यमशिलताको दिशामा अघि बढिरहेको उल्लेख गर्दै उनले हस्तकलाजस्ता थुप्रै उत्पादनहरूले विश्व बजारमा आकर्षण बढाएको बताए। त्यसैले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई समेत उनले आह्वान गरेकी छन् ।

नेपाल र थाइल्याण्ड कुनैपनि समय उपनिवेश नबनेका स्वतन्त्र र स्वाधीन राष्ट्र भएको उल्लेख गर्दै उनले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणको स्मरण गरेकी छन् ।

उक्त भ्रमणका क्रममा सरकारी र निजी तहमा विभिन्न सहमति र समझदारीहरू भएका थिए । यसले दुई देशबीचको सम्बन्ध अझ सुदृढ भएको भन्दै उनले भविष्यमा पनि यस्ता उच्चस्तरीय भ्रमणहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरिन ।

‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयर नेपालस्थित थाई दूतावास र भाटभाटेनी सुपरमार्केटको सहकार्यमा आयोजना गरिएको हो।