समृद्धि हासिल गर्न नीतिगत सुधार आवश्यक : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघ (सिएनआइ) का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारस्थित निजी निवासमा भएको भेटमा दाहालले राज्यले सोच्ने तरिका परिवर्तन गर्नुपर्ने र समग्र संरचनामै सुधार आवश्यक रहेको बताएका हुन्।

उनका अनुसार आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले तिनलाई सहज वातावरणमा काम गर्न दिनु आजको आवश्यकता हो। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य प्राप्त गर्न सकिन्न,” उनले भने, “राज्यले दुःख दिने होइन, सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”

भेटका क्रममा सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको र प्रचण्ड प्रधानमन्त्री हुँदा निजी क्षेत्रसँगको सहकार्य सशक्त रहेको स्मरण गरेका थिए।