पूर्व निर्वाचन आयुक्त शर्माको निधन

काठमाडौ । पूर्वनिर्वाचन आयुक्त तथा पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण शनिबार साँझ निधन भएको छ।

उनको काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

शर्माको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले बचाउन सकेनन्।

शर्माले लामो समयसम्म सरकारी दैनिक द राइजिङ नेपालमा पत्रकारका रूपमा काम गरेकी थिइन्। निष्पक्ष दृष्टिकोण र निर्भीक लेखनीका कारण उनी पत्रकारिता क्षेत्रमै मात्र होइन, निर्वाचन आयोगमा पनि सम्मानित भूमिकामा पुगिन्।

उनले निर्वाचन आयोगकी आयुक्तका रूपमा जिम्मेवारी सम्हाल्दा पारदर्शिता, निष्पक्षता र सुशासनका पक्षमा निरन्तर आवाज उठाइन्।

शर्मा दुई छोरीकी आमा थिइन्। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि बिहानदेखि राखिने र त्यसपछि आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ।