पत्रकार महासंघ उपत्यका प्रदेशमा थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रोजिना थापालाई दिइएको छ।

महासंघका अध्यक्ष टेनिस रोका आइतबार राति सञ्चारसम्बन्धी कार्यक्रममा सहभागी हुन नर्वे प्रस्थान गरेपछि थापाले १० दिनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी हुन्।

महासंघको विधानको दफा २२ को उपदफा १ बमोजिम थापालाई उक्त जिम्मेवारी दिइएको रोका स्वयंले जानकारी दिएका छन्।

कार्यवाहक अध्यक्ष थापा हाल उपत्यका प्रदेश समितिको उपाध्यक्ष हुन्। यो उनको दोस्रो कार्यकाल हो। अघिल्लो कार्यकालमा उनी महिला उपाध्यक्षको भूमिकामा थिइन्। उनी देखापढी अनलाइनमा कार्यरत पत्रकार हुन् ।

नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समिति काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लालाई समेट्ने भौगोलिक प्रदेश संरचना हो।