पानद्वारा एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

 

काठमाडौं, २१ असार । पिन्सिपल्स एसोसिएन अफ नेपाल (पान) ले एसईई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने सामुदायिक विद्यालय र विद्यार्थीहरुलाई सम्मान गरेको छ । काठमाडौं उपत्यका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेर एसईई २०८१ मा ४.० जीपीए ल्याउने विद्यार्थी, ४ जीपीए नतिजा ल्याउने विद्यार्थी अध्ययन गरेका विद्यालय र शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरुलाई पानले सम्मान गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यतामा पानले मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा उक्त सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सार्वजनिक विद्यालयको नतिजा र गुणस्तर सुधारमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए । राज्यले आवश्यकताको आधारमा शिक्षामा लगानी गरेको भए पनि त्यो लगानी अपेक्षा गरिए जति र लक्षित ठाउँमा पुग्न नसकेको बताए । सो क्रममा मन्त्री पन्तले पानले सामुदायिक विद्यालयलाई माथि उठाउन खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यलाई सरकारले साथ दिने बताए ।

कार्यक्रममा पानका अध्यक्ष सुदामप्रसाद गौतमले सामुदायिक विद्यालय रूपान्तरणको लागि पानले संकल्प लिएर अघि बढेको बताए । सामुदायिक विद्यालयहरु अब कमजोर नरहेको उल्लेख गर्दै अध्यक्ष गौतमले सामुदायिक विद्यालयमा नयाँ पुनर्जागरण सुरु भएको बताए ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयहरुलाई सम्मान गर्नुअघि “सामुदायिक विद्यालयको शैक्षिक नतिजाः सुधारका रणनीति र चुनौतीहरू” विषयक प्यानल छलफल गरिएको थियो । उक्त छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला, काठमाडौं महानगरपालिकाका सहरी विकास आयोगका सदस्य शैलेन्द्र झा, ललितपुर महानगरपालिकाका शिक्षा अधिकारी देवीप्रसाद उपाध्याय, ज्ञानोदय माविकी प्रधानाध्यापक बिष्णु रिमालले आआफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षा पत्रकार प्रकृति अधिकारीले गरेका थिए । कार्यक्रममा काठमाडौँ उपत्यकाका ३०० भन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विद्यार्थी, अभिभावकहरु सहभागी भएका थिए । एभरेस्ट इन्जिनियरिङ कलेजको सहयोगमा पानले काठमाडौं उपत्यकामा शनिवार कार्यक्रम गरेको थियो भने यस्ता कार्यक्रम देशभर जिल्ला जिल्ला तथा प्रदेश प्रदेशमा भइरहेको जानकारी दिइएको थियो । पानका महासचिव लक्ष्मण श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा पानका बरिष्ठ उपाध्यक्ष हेरम्बराज कँडेलले स्वागत गरेका थिए ।

एसईई २०८१ मा काठमाडौंका सामुदायिक विद्यालयबाट २१ जना, भक्तपुरबाट ४ जना र ललितपुरबाट ४ जना विद्यार्थीले ४ जीपीए नतिजा प्राप्त गरेका छन् ।